निर्माण कम्पनीहरुको रकम भुक्तानी दसैँ अगाडि हुन्छ : अर्थमन्त्री पौडेल

12

काठमाडौँ, १६ असोज । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दसैँ अगाडि हुने आश्वासन दिनुभएको छ ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानी प्रक्रियामै रहेकाले चिन्ता नलिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानी पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु । त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छु । त्यसका लागि २० अर्ब जति भुक्तानी भएको पनि छ । तर, यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानीका लागि काम गरिरहेका छौँ । केही प्रक्रिया रोकिएको छैन । तपाईले भुक्तानि पाउनुहुनेछ । दसैँ अगाडि नै हामी प्रयास गर्छौँ । संसद्ले पास गरेको बजेटका लागि तपाईहरुले चिन्ता गर्नुपर्दैन ।’

निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शीर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानीमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

उहाँले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

‘अविरल वर्षापछि आएको बाढी र पहिरोले सार्वजनिक सम्पत्तिदेखि नीजि घर, खेत, जमिन र भौतिक संरचनाहरु बगाएको स्थिति छ । व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । निकै ठुलो क्षति चाहिँ मुलुकले व्यहोर्नुपरेको छ । यस्तो अवस्थामा क्षतिबाट मुलुकलाई बाहिर निकाल्नका लागि नेपाल निर्माण व्यवसायी महासंघको सहयोगको पनि अपेक्षा गर्न चाहान्छु । यसका लागि तपाईले राख्नुभएको चासो र चिन्ता र सहयोगको प्रतिबद्धताका लागि धन्यावाद समेत दिन चाहान्छु । तर, भुक्तानी गर्नुपर्ने रकम धेरै र त्यो शीर्षकमा कम मात्र बजेट भएका कारण समस्या भएको छ । यस्तै समस्याहरुका निम्ति हामीले अरु प्रबन्ध गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...