बाढीपीडितले प्रचण्डलाई भने- अभिभावकत्व गरिदिनुस्

67

ललितपुर, १५ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाढीपीडितहरुले विपत्‌को बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् ।

डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् ।

ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् ।

पीडितहरुले अझै उद्धारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरे ।

पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्धार, राहत र पुनःस्थापना गर्नुपर्ने बताउनुभयो ।

जनजीवन सहज बनाएर सबै पीडितलाई दसैँ मनाउन सक्ने वातावरण बनाउन सरकारले पुनःस्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...