साफ यू–१७ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग स्तब्ध

0

काठमाडौँ, ५ असोज । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग्रता लिन असफल भएको थियो । नेपालका गोलरक्षक पेम्बा नोर्बुले पनि पाकिस्तानी प्रहारलाई लगातार बचाए पनि ८१औँ मिनेटमा नेपालले गोल खान पुगेको थियो ।

पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि पाकिस्तानको रक्षात्मक लाइन बलियो रह्यो र अन्ततः पाकिस्तान विजयी भयो ।

यस जितसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्वपूर्ण ३ अंक लिएको छ । अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ भने पाकिस्तानले भुटानविरुद्ध सेप्टेम्बर २३ मा र सेप्टेम्बर २५ मा श्रीलंकासँग खेल्ने छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले खेलपछि पत्रकारसँग कुरा गर्दै राम्रो खेल्दा खेल्दै पनि टिम पराजित हुन पुगेकोमा दुःखी भएको बताउनुभयो ।

पाकिस्तानकी खेलाडीलाई हाइट एड्भान्टेज रहेको बताउँदै श्रीलंकाविरुद्धको खेल ३ प्वाइन्ट लिने गरी खेल्ने बताउनुभयो । कप्तान सुवास घाइते भएर मैदान छाडेको प्रश्नमा प्रशिक्षक श्रेष्ठले चोट सामान्य रहेको बताउँदै श्रीलंकाविरुद्ध फिट हुने पनि उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...