छायाँनाथ रारा नगरपालिका मुगुको पहिलो साक्षर घोषणा पालिका

20

मुगु, २ असोज । मुगुमा रहेका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका पहिलो साक्षर घोषणा पालिका बनेको छ ।

‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा छायाँनाथ रारा नगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको हो ।

नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने र केही सूचक पूरा भएपछि साक्षरता जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको नगर प्रमुख विष्णु कुमार भामले बताउनुभयो ।

नगर प्रमुख भामका अनुसार नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ । निर्धारण गरिएका राष्ट्र भाषा वा मातृ भाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाइल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिनेछ ।

साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशक्ति तयार गर्नु प्रमुख चुनौती रहेको समेत बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...