काठमाडौँ, २५ भदौ । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटिआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाई गरेको हो ।
१६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले १८ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।
बुद्ध एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो । उसले आइएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटिआर जहाजहरु भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठुलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।
एटिआरले अहिलेसम्म हजारौँ जहाजको निर्माण गरिसकेको छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरी यसरी बिदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो ।
आजको बिदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताउनुभयो ।