राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण सुरू

13

काठमाडौँ, २५ भदौ । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता आज गरिएको हो ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडिहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिनुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्ने छ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षदेखि थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।

घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७५७ खेलाडी लाभान्वित हुने छन् ।

कार्यक्रमको प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूवात गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीहरुको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट सुरूवात भएको बताउनुभयो ।

प्यारा ओलम्पिकमा ठुलो पदक दिलाएर योगदान दिनुभएकी पलेशा गोवर्द्धनको उपल्ब्धिका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...