काठमाडौँ, १९ भदौ । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनुभएको छ ।
बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ । नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’ उहाँले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गर्नुभयो । पछिल्लो समय साइबर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उहाँको भनाइ थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै उहाँले संसद्मा भएका दुई ठुला दलहरुबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताउनुभयो । ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्रद्वन्द्वलाई शान्तीमा ल्यायौँ,’ उहाँले भन्नुभयो ।
उहाँले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दलहरु मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताउनुभयो ।
उहाँले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गर्नुभयो ।
उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन । प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’