काठमाडौँ, १० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताउनुभएको छ ।
सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उहाँले नेपालको हवाई सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल एरलाइन्स खस्किएको छ सबै हिसाबले । अत्यन्तै कमजोर भएको छ । नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौँ । जसले गर्दा कोही पनि विदेशी पर्यटक आउँदै गर्दा नेपालको उड्डयान क्षेत्रलाई हेरेर मूल्याकंन गर्ला । यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउछन् । उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ ।’
यस्तै, उनले नेपाल विविध संस्कृतिको देश भएको भन्दै यस्ता सम्पदाहरुको उजागर, संरक्षणसाथै मार्केटिङ पनि गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग विविध संस्कृति छ । यस्तो संस्कृति सबै देशलाई प्राप्त छैन । सम्पदाहरुको उजागर गर्ने, संरक्षण गर्ने र संवर्द्धन गर्न र विविधता पूर्ण संस्कृतिको संरक्षणसँगै यसको मार्केटिङ पनि गर्नुपर्छ ।’
आगामी दिनमा कुनै स्वार्थबिना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने विश्वास दिलाउँदै नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने उहाँको भनाइ छ ।