सुदूरपश्चिममा गौरा पर्व सुरू, आज बिरुडा पञ्चमी

14

काठमाडौँ, ८ भदौ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरू भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

केही ठाउँमा भोलिदेखि गौरा पर्व सुरु गर्ने तयारी गरिएको भए पनि बाटा गौरा मनाउने चलन भएका ठाउँमा आजदेखि गौरापर्व सुरू भएको हो । यो वर्षको गौरा भदौ कृष्ण पक्षमा परेको छ । भदौ कृष्ण पञ्चमीदेखि गौरा सुरू भएको स्थानीय संस्कृतिका जानकार रामदत्त जोशीले बताउनुभयो ।

गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा पर्वको पहिलो दिन ब्रतालु महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने गर्दछन् ।

ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रहिआएको जोशीले बताउनुभयो ।

यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रहिआएको छ ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहिआएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायतका खेलहरु पनि खेल्ने चलन रहिआएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...