बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला
बझाङ, ३ भदौ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडा गाउँमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाको शव फेला परेको छ ।
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी बेपत्ता भएका उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेका छन् । उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको टोलीले निकालेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) फणीन्द्र भण्डारीसहितको टोलीसमेत राहत सामाग्रीसहित बुङ्गलतर्फ हिँडिसकेको छ । प्रहरीकाअनुसार राति करिब साढे १ बजेको समयमा एक्कासी वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो ।
पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।
भागेर बाँच्नेमा १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी रहेका छन् ।
घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।