विद्युत् उपयोगमा कुनै कसर बाँकी राख्नु हुँदैन : मन्त्री खड्का

33

काठमाडौँ, १ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादन गर्दा जनताको टाउकोमा ऋण परेकाले विद्युत् उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले विद्युत् उत्पादन गर्दा राज्यको पनि खर्च भएकाले प्राधिकरणले विद्युत् उपयोगमा कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सिंचाइको काम गर्दा हामीहरुले विद्युत् पनि उत्पादन गरिरहेका छौँ । रानीजमारामा आयोजनामा ४.७१ मेगावाट विद्युत् उत्पादन भएको छ र प्रयोग पनि भइरहेको छ । प्रयोग गर्ने संरचनाहरु नै छैनन्, कसरी गर्ने, कता गर्ने ? अहिले भटाभट ३० वर्ष ३५ वर्ष प्राइभेट सेक्टरहरुलाई दिने त्यसपछि सरकारले लिने भन्ने कुरा हो । त्यो लिइसकेपछि त्यसको उपयोग कसरी हुन्छ त्यसको खाका बनेको छैन । विद्युत् उत्पादन गर्दैगर्दा राज्यकै खर्च भएको, जनताको टाउकोमा ऋण भएर होस्, जनताको टाउको गनेर सहयोग गरेर होस्, आर्थिक सहयोग गरेर विद्युत् उत्पादन सम्पन्न भएको छ । त्यसैले विद्युत् प्राधिकरणले विद्युत्‌को उपयोग गर्नैपर्छ ।’

साथै उहाँले केन्द्रीय सरकारी अस्पतालका लागि विद्युत् महसुलमा ५० प्रतिशत छुट दिनुपर्ने बताउनुभयो । उहाँले ५० प्रतिशत छुट दिए सरकारी अस्पतालमा झन्डै २४ घन्टा सेवा सूचारु गर्न सकिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...