काठमाडौँ, ३१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको बताउनुभएको छ । तर, यसवर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी पनि गराउनुभयो ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यसवर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी गराउनुभयो ।
त्यस्तै, उहाँले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने पनि बताउनुभयो । उहाँले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाउनुभयो ।
उहाँले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम, इको हिल टुरिजमलगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको बताउनुभयो । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।