अंग प्रत्यारोपणका क्षेत्रमा नेपाललाई विश्वकै नमुना बनाउन सक्छौँ : डा.श्रेष्ठ

20

भक्तपुर, २९ साउन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंगलाई दान गर्न सकेको खण्डमा एक व्यक्तिबाट ८ जनाले पुर्नजीवन पाउन सक्ने बताउनुभएको छ ।

विश्व अंगदान दिवसका अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा उहाँले सेवा, सुविधा र पूर्वाधार विकास गर्न सके देश अगंदानमा आत्मनिर्भर हुने बताउनुभयो । उहाँले केन्द्रले मिर्गौला प्रत्यारोपणमा ९८ र कलेजो प्रत्यारोपणमा ९३ प्रतिशत सफलता हासिल गरेको दाबी पनि गर्नुभयो । अंग प्रत्यारोपणका क्षेत्रमा विश्वमा नमुन बन्ने प्रयासमा रहेको उहाँले सुनाउनुभयो ।

‘हामीले १२ सय ९२ जनाको मृगौला र २७ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छौँ । ९८ प्रतिशत मृगौला र ९३ प्रतिशत सफल छौँ । गत आर्थिक वर्षमा पनि १९६ जनाको मृगौला र १५ कलेजो गरी २११ जनाको सफल प्रत्यारोपण गरेर विरलै पाइने सफलता हासिल गरेका छौँ,’ उहाँले भन्नुभयो ।

केन्द्र भौतिक पूर्वाधारका रुपमा कमजोर रहेको उल्लेख गर्दै डा.श्रेष्ठले एक सय रोपनी जग्गा भक्तपुर इँट्टा कारखाना क्षेत्रमा लिने प्रक्रिया अघि बढेको बताउनुभयो । ‘जग्गा प्राप्तिको विषयमा अगाडि बढिरहेको छ । जग्गा प्राप्त भएमा तीन महिनाभित्रमा प्रिफ्याक भवन बनाएर सेवा सुरु गर्छौँ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...