- स्वामी ध्यान आशिष
मानव जीवनमा अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने व्यक्तिलाई गुरू भनिन्छ । ‘गु’को अर्थ हुन्छ अन्धकार (अज्ञान)एवम् ‘रू’को अर्थ हुन्छ प्रकाश(ज्ञान)अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी प्रकाशतर्फ लिएर गइ जीवनको मार्गदर्शन गर्ने व्यक्तिलाई गुरू भनिन्छ । मानव जीवनमा गुरूको महिमा अपरम्पार रहेको छ ।
गुरू ब्रम्हा, गुरू विष्णु , गुरू देबो महेश्वर ।
गुरू साक्षत परब्रम्हातस्मै श्री गुरूवे नम ।।
अर्थात् यो सृष्टिका रचनाकार (ब्रम्हा) पनि गुरू, सञ्चालनकर्ता (विष्णु) पनि गुरू, संहारकर्ता (महेश्वर)पनि गुरू नै हुन् । गुरू नै त्यो परमतत्व हुन् जसबाट यो चराचर जगत सञ्चालित छ । त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ ।
‘अज्ञान तिमिरान्धश्च ज्ञानांजन शलाकया, चक्षुन्मिलितम् तस्मै श्री गुरू बै नम’ अर्थात् जसले ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारमा अन्धा भएका व्यक्तिहरुको आखा खोल्दछन्, ती सब गुरूलाई सादर प्रणाम छ । सनातन हिन्दु धर्ममा गुरूलाई भगवान् भन्दा पनि माथिको दर्जा दिइएको छ । भनिन्छ असल गुरूको प्राप्ति अथवा छनोट अधिकांश समस्या र दुविधाहरुको निरोध हो । तथापिः आधुनिक युगमा असल गुरू र असल शिष्य दुवैको पहिचान गाह्रो छ । २०औँ शताब्दीका महान गुरू ओशो भन्नुहुन्छ, गुरू पूर्वीय चेतनाको खोज हो । पश्चिमी भाषामा गुरूजस्तो कुनै शब्द छैन । गुरू त त्यहीँ व्यक्ति हुनसक्छ जसमा गुरुता उपलब्ध भएको होस् । जसमा अन्तिम महिमा उपलब्ध भएको होस् । जसले परमसत्य जानेको छ त्यहीँ गुरू हुन सक्छ । ओशोको दृष्टिमा गुरू त्यो हो जसमा अन्तिम घटना घटेको छ । अनि जो समाधिष्ठ भएको छ । जो परमात्मासँग एक भएको छ ।
गुरूको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरू पूर्णिमा वा व्यास पूर्णिमा भनिन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्म दिनसमेत भएकाले यसलाई गुरु पूर्णिमा वा व्यास पुर्णिमा भनिएको हो । भगवान गौतम बुद्धले पनि बुद्धत्व प्राप्त गरेपछि असार पूर्णिमाको दिनमा पहिलो पटक सारनाथमा पञ्चभद्रलाई उपदेश दिएका थिए । भनिन्छ त्यसैदिन बुद्धले पञ्चभद्रलाई दिक्षा दिएका थिए ।
पूर्णिमा भन्नाले पूर्णचन्द्र अर्थात् कुनैपनि कर्मको पूर्णताको अवस्था भनेर बुझिन्छ । त्यसैले गुरु पूर्णिमालाई मानव प्राणीमा भएको अन्धकारको अन्त्य भइ ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनको उत्सवको रुपमा पनि यसलाई मनाउने गरिन्छ । आषाढ शुक्ल पक्षको पुर्णिमामा आफूलाई शिक्षा, दिक्षा एवम् मोक्षको बाटो प्रदान गर्ने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै अनि गुरुको महिमा गाउँदै उत्सव मनाउने गरिन्छ । गुरू पुर्णिमाको निकै पुरानो इतिहास र महत्व हिन्दु सनातन धर्म संस्कृतिमा छ । प्रसिद्ध हिन्दु शास्त्र बेदहरुको संकलन, सम्बर्द्धन र महाभारतको रचना गरेका महान महर्षि श्री कृष्णद्देपायन अर्थात बेद्ब्यासजी आषाढ शुक्ल पक्षको पूर्णिमामा जन्मेका थिए । उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरुलाई आफ्नो ध्यान, साधना र तपोबलले एकत्रित र रचना गरी मनुष्यतालाई ठुलो योगदान दिएका छन् ।
गुरू शिष्य परम्परा पूर्वीय दर्शनको एक अमूल्य सम्पदा हो । शिष्यले सद्गुरू भेट्टाउनु जीवनको महत्वपुर्ण उपलब्धि हो । अध्यात्ममा जसलाई जाग्नु छ उसले वहुत सावधान भएर मार्गदर्शक छान्नु पर्दछ । महान गुरु ओशोको भनाई अनुसार बहुत होशपूर्वक जीवनमा अघि बढियो भने अनि बहुत बिचारपूर्वक कदम राखियो भने सायद सद्गुरुसँग मिलन हुनसक्छ । गुरूलाई त्यसले नै खोज्नसक्छ जसभित्र प्रकाशको खोज पैदा भएको छ । जसको भित्र सत्य जान्ने तीव्र अभिलाशा जागेको छ । ओशोकै शब्दमा भन्नुपर्दा जो भित्र सत्य पिउने अभिप्सा जन्म भएको छ त्यहीँ व्यक्तिले गुरूलाई खोज्नसक्छ । त्यस्तो व्यक्ति नै शिष्य हुन सक्छ । शिष्यको अर्थ विद्यार्थी होइन । यदि कोही वास्तवमा शिष्य छ भने मात्र गुरू पाउन सक्छ । शिष्यको अर्थ हुन्छ कोही शिष्य चढाउन राजी हुन्छ । जो प्रार्थना सिक्न आउँदैन प्रार्थनामय हुन आउँछ । शिष्य त्यो हो जो गुरुको आभाम६डलमा समाहित हुन् तयार हुन्छ । शिष्यमा बुद्धत्व उपलब्ध हुने सम्भावना हुन्छ ।
भनिन्छ, जब शिष्य तयार हुन्छ तब सद्गुरु प्रकट हुन्छ । गुरु त्यो हो जसले अन्धकारलाई अलग गरिदिन्छ । सद्गुरु ओशो भन्नुहुन्छ गुरुको अर्थ शिक्षक होइन । गुरुको अर्थ अध्यापक होइन । गुरुको अर्थ व्याख्याता होइन । आचार्य होइन । गुरु शब्दको कुनै पर्याबाची शब्द नै छैन । गुरु शब्द नै अनौठो शब्द हो । गुरुलाई तब खोज्न सकिन्छ जब मान्छेभित्र प्रकाश खोज्ने आकांक्षा उम्लिन थाल्दछ । सद्गुरू जब यस धर्तीमा आउँछन मान्छेहरुले चिन्न सक्दैनन् । सद्गुरुलाई नचिन्ने मात्र होइन मान्छेहरु विरोधमा उत्रन्छन् । विरोधमा मात्र उत्रने होइन मान्छेहरु सद्गुरूलाई हत्या गर्न उद्दत रहन्छ ।
असार पूर्णिमालाई किन गुरू पूर्णिमाको रुपमा मनाइयो भन्ने सन्दर्भमा महान गुरू ओशोले अदभुत विश्लेषण गर्नुभएको छ । असार पूर्णिमा बहुत अर्थपूर्ण छ । असार पूर्णिमालाई चुन्नेहरुले इसारा गरेका छन् । गुरू त पूर्णिमा जस्तो हुन्छ अनि शिष्य हुन्छ असार जस्तो । शिष्यहरू जन्मदेखिका अँध्यारो लिएर आएका हुन्छन् । काला बादलहरु लिएर आएका हुन्छन् । असारको मौसममा पनि गुरू चन्द्रमा जसरी चम्कन सक्छ । अध्यारोले घेरिएको वातावरणमा पनि उज्यालो पैदा गर्न सक्ने नै गुरू हुन्छ । त्यसकारण असार पूर्णिमा छानिएको हो । त्यसमा गुरूतर्फ पनि इशारा छ अनि शिष्यतर्फ पनि ।
गुरूले शिष्यको अँध्यारोले घेरिएको हृदयमा प्रकाश पुर्याउनु छ । गुरूलाई चन्द्रमाको रुपमा प्रतिक दिइन्छ । मनीषीहरुले धेरै सोचेर चन्द्रमालाई गुरूको प्रतिक चुनेका हुन् । चन्द्रमामा पनि प्रकाश आफ्नो हुँदैन । प्रकाश त सूर्यको हुन्छ । गुरूसँग पनि प्रकाश आफ्नो होइन परमात्माको हो । त्यो केवल प्रतिफल हो । जसरी सूर्यतर्फ सिधा हेर्न मुस्किल हुन्छ त्यसैगरी परमात्मातर्फ सिधा हेर्न सकिँदैन । प्रकाश यति धेरै हुन्छ कि जसलाई सम्हाल्न सकिँदैन । गुरूले सूर्यजस्तो परमात्माको प्रकाशलाई चन्द्रमाले जसरी लिएर आउछ अनि अँधेरी रातमा काला बादलले घेरिएका जस्ता शिष्यहरुलाई दिन्छ । चन्द्रमाले भयङ्कर अध्यारो पनि जानेको छ अनि प्रकाश पनि जानेको छ । बिना गुरू परमात्मा खोज्न असम्भव हुन्छ । ओशोको दृष्टिमा यसकारण असार पूर्णिमालाइ गुरू पूर्णिमा भनिएको हो । गुरूको महिमा र श्रद्धा प्रकट गर्ने दिन गुरू पुर्णिमाको पावन अवसरमा सद्गुरू ओशो अनि सम्पूर्ण गुरूहरुप्रति हार्दिक नमन !