‘राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन’ [भिडिओ]

10

काठमाडौँ, २५ साउन । पछिल्लो समयमा आदिवासी जनजातिप्रति राज्य त्यति संवेदनशील भएको जस्तो लाग्दैन । आदिवासी जनजातिको समावेशीप्रतिको कुरामा संविधान र कानुनमा व्यवस्था छ । त्यो व्यवस्थाअनुसार केही कार्यान्वयन भइरहेका छन् तर त्यो पर्याप्त होइन । विशेषगरी राजनीतिक नेतृत्व नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व प्रदेश सभा, प्रतिनिधिसभामा ३० प्रतिशतको हाराहारीमा देखिन्छ । ३५ प्रतिशत जनसङख्या भएको आदिवासी जनजातिको प्रतिनिधित्व पूर्ण समावेशी समानुपातिक नभएपनि समावेशी समानुपातिकउन्मुख भएको भने देखिन्छ ।

अझै पनि जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक गर्नेतर्फ राजय उन्मुख हुनुपर्छ । राष्ट्रियसभा स्वभाविक रुपले समावेशी सभा हो । तर, प्रतिनिधित्वको रुपले आदिवासी जनजातिमैत्री छैन । राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने अपाङ्ग दलित महिलाहरुको प्रावधान छ । तर, आदिवासी जनजातिहरुको त्यहाँ लैजाने प्रावधान छैन । यसमा चाहिँ संशोधन हुनुपर्छ । आदिवासी जनजातिहरुलाई सहभागिता गराउनुपर्छ भनेर सरकारलाई सिफारिस गरिसकेको छौँ तर कार्यान्वयन हुन सकेन । अहिले राष्ट्रिय सभामा आदिवासी जनजाति ११ प्रतिशतको मात्र सहभागिता छ जुन प्रतिनिधि सभाको तुलनामा अत्यन्तै न्यून हो ।

सबैभन्दा दुःखद् कुरा के हो भने आदिवासी जनजातिको प्रतिनिधित्व राज्यको नीति कार्यान्वयन गर्ने र स्थायी सरकारको संरचना मानिने निजामति सेवामा न्यून प्रतिनिधित्व छ । यो प्रतिनिधित्व अहिले लगभग २४ प्रतिशतको हाराहारीमा छ । तथ्यांकले के देखाउँछ भने आदिवासी जनजातिहरुको प्रतिनिधित्व समावेशी कानुन लागु भएको वा समावेशी समानुपातिक प्रतिनिधित्वको लागि लोक सेवा आयोगले नै विज्ञापनहरु खोलेर नयाँ कर्मचारी राख्ने सवालमा त्यति खुसी हुने अवस्था छैन । यसलाई नयाँ किसिमले अथवा अलि धेरै प्रतिनिधित्व गराएर अहिलेको ऐन संशोधन गरेर पूरै प्रतिनिधित्व गर्नुपर्ने आवश्यक देखिन्छ ।

प्रतिनिधित्वको कुरा गर्दा २०१२ मा १२।५ थियो । अहिले आउँदा १४ प्रतिशत भनेको करिब एक प्रतिशत मात्रै वृद्धि भएको हो । यही दरले आदिवासी जनजातिको समानुपातिक सहभागिताको लागि डेढ सयभन्दा बढी वर्ष लाग्ने देखिन्छ । त्यसैले यति लामो समयसम्म यो समावेशीता राख्नु हुँदैन ।

आदिवासी जनजातिको अन्तर्राष्ट्रिय अधिकारहरु पनि छन् । संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिसम्बन्धी घोषणापत्र २०७ मा नै गरेको हो । अहिलेसम्म यसमा सरकारले कार्यक्रमहरु र कार्ययोजनाहरु तयार गर्न सकेको छैन । एक वर्ष अगाडि दिगो विकास र आदिवासी जनजाति अधिकार कार्ययोजना हामीले सरकारलाई तयार गरेर कार्यन्वयनको लागि सिफारिस गरेको थियौँ तर अहिलेसम्म कार्यान्वयन भएको छैन । आदिवासी जनजातिको सांस्कृतिक अधिकारमा रहेको युनेस्कोले आदिवासी जनजातिको सम्पदाहरु सूचीकरण गर्नुपर्ने हो त्यो सम्पदा सूची गराउन नेपाल सरकारबाट पहल भइरहेको छैन ।

स्थानीय तहमा महिलाहरु ४० प्रतिशत हुनु महिलाहरुको लागि राम्रो हो । तर, हरेक वडावासीमा एकजना दलित निर्वाचित हुने प्रावधान छ । त्यो भनेको पाँच जनामा करिब २० प्रतिशत हो, यसमा दलितलाई पनि हाराहारीमा राखिएको छ । यो ठिकै छ । तर, आदिवासी जनजातिलाई त्यहाँ प्रतिनिधित्व गराउने प्रावधान छैन । त्यो प्रावधान पनि बनाउनुपर्छ भनेर सरकारलाई सिफरिस गरेका छौँ । तल्लोस्तरको सरकारमा आदिवासी जनजातिले त्यो खालको सेवा सुविधा र अवसर छैन ।

स्थानीय सरकारले आदिवासी जनजातिहरुलाई सहयोग गर्नका लागि खास नीति बनाएको छैन । ०६२/६३ को आन्दोलनपछि तत्कालीन जिल्ला विकास समितिले निश्चित प्रतिशत अर्थात् १५ प्रतिशत जति विकास बजेट छुट्याएर आदिवासी जनजाति, दलित, महिला, मुस्लिमलगायत वर्गलाई अगाडि बढाउन बजेट दिने गरेको थियो तर अहिले स्थानीय सरकार त्यसमा रोक लगाएको छ । यसबारेमा सबै पालिकाहरुलाई सिफारिस पनि गरेका छौँ । तर, कार्यान्वयनमा आएको छैन । संघीय मामिला मन्त्रालयले बजेट दिने र समस्याहरु समाधान गर्नुपर्छ भनेर पनि भनिरहेका छौँ ।
सधैँ आन्दोलन गर्नुपर्छ, जनता सरकारविरुद्ध सडकमा नै आउनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ । यसमा राज्यले पनि सोच्नुपर्छ । कानुनमा भएको व्यवस्था लागु नगर्ने, सधैँ दबाउन मात्र खोज्ने प्रयास गर्नुभएन । यस्तो अवस्थामा आफ्नो अधिकारको लागि लड्नुपर्छ । राज्यको विरुद्धमा गएर आन्दोलन गर्नु भन्ने कुरा त होइन तर आफ्नो अधिकार प्राप्त गर्नका लागि सडकमा नै जानुपर्छ भने जानुस् भन्न चाहन्छु ।

आदिवासी जनजातिहरुले अलि अलि पाइ हालेका छन् भनेर आन्दोलन कम गरेको भन्ने भाष्य निर्माण भएपनि त्यस्तो होइन । राज्यले कानून अनुसार अधिकार दिनुपर्छ भनेर केही शान्त बसेका हौँ । आयोगका तर्फबाट पनि आदिवासी जनजाति अधिकारका लागि सरकारले हेर्दैन अथवा ती समुदायको अधिकार दिँदैन भने आवाज उठाउनुपर्छ र त्यसमा आयोग पनि सँगै आवाज उठाउन तयार छ । सरकारले आदिवासी जनजाति आयोगको सिफारिसहरुलाई नजरअन्दाज गरेमा अथवा कार्यान्वयनमा उदासिनता देखाएको छ । यसमा गम्भीर हुने बेला आएको छ ।

( नेपाल न्यूज बैंकद्वारा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरसँग गरिएको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...