काठमाडौँ, २२ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताउनुभएको छ । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐनअनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।’
उहाँले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘स्काउटलाई पनि संघीय संरचनाअनुसार देशभरमा लैजाउनुपर्छ । ७५३ वटै स्थानीय तहमा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्धत मिल्छ,’ उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ । विस्तारै यसमा ह्रास आइरहेको छ । स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ।’
स्काउटले प्राकृतिक प्रकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताउनुभयो।
उहाँले स्काउटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गर्नुभयो ।