काठमाडौँ, १६ साउन । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलंकाका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’
उहाँका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासंघ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
साथै, बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका कार्यालय÷कार्यक्रमहरूका लागि आवश्यक राजपत्राङ्गित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।