काठमाडौँ, १६ साउन । संयुक्त अरब एमिरेट्स (युएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् ।
भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् ।
भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे ।
बिहान त्रिभुवन विमानस्थलमा ओर्लदै पहलमानले आफूहरुले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सी पिएको भए पनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए ।
पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सि पिएका थियौँ । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरे गर्मी थियो । बाबुराम धेरै नै रक्सी खाएर रुममा गएको थियो । रुममा गएको तीन–चार घन्टापछि आफैँ मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भए पनि अरु तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनी बुझाएर नेपाल फर्किएका हौँ ।’
उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियन्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् ।