काठमाडौँ, १६ साउन । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले दुई ठुला दलको सहकार्यले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
मंगलबार पीडित केन्द्रित संक्रमणकालीन न्याय कार्यान्वयनको सवालः आयोग, परिपुरण नीति तथा संरचनामा पीडितहरुको निर्णायक भूमिका अन्तरक्रिया कार्यक्रममा उहाँले शान्ति प्रक्रियासम्बन्धी कानुन चाँडो पास हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कानुन पास गर्ने कुरा रोकिनुभएन छिटो प्रक्रियामा गएर पास हुनुपर्यो । कानूनको कार्यान्वयन गर्ने प्रक्रियामा जानुपर्यो । हामीलाई विश्वास छ र सकारात्मक आशावादी पनि छौँ । अहिलेको हाम्रो लोकतन्त्रको इतिहासमा ठुला दुई वटा दलको सहकार्यले यो टुंग्याउछ ।’
उहाँले कानुन, न्यायको अवस्था समय धार्मिक, सामाजिक सांस्कृतिक देशको हावा पानी, माटो र परम्परामा नि सुहाउँदो हुनुपर्ने बताउनुभयो । सीमित समाज, जनचेतना, पीडितको पहुँचको लागि काम गर्ने र कूटनीतिक नियोगहरुले आ–आफ्नो पक्षबाट आवश्यक कुराहरु त्याग गर्न नसकेसम्म टिआरसीलाई टुङ्गो लगाउन नसकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कानुन कयौँ कुराहरु न्यायको अवस्था समय धार्मिक, सामाजिक सांस्कृतिक देशको हावा, पानी, माटो र परम्परा पनि सुहाउँदो हुनुपर्ने रहेछ भन्ने मेरो बुझाइ हो । सीमित समाज, जनचेतना, पीडितको पहुँचको लागि काम गर्ने र कूटनीतिक नियोगहरु पनि छन् । यो चार पक्षले आ–आफ्नो पक्षबाट केही आवश्यक कुराहरु त्याग गर्न नसकेसम्म यो टुङ्गो लाग्दैन ।’