काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आकार प्रकार हेरेर सीमाभित्र रहेर मात्र बाघको संरक्षण र वृद्धि गर्न सकिने बताउनुभएको छ ।
सोमबार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको भवनमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले दोब्बर गर्ने भनेको बाघको संख्या त्रिपल भएको भन्दै अब दुई पटक डबल गर्यौँ भने मान्छेले छोडेर हिँड्नुपर्ने अवस्था आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्न सक्छौँ हामी । त्यसैले दोब्बर गर्ने भनेको त्रिपल भयो । अब दुई पटक डबल गर्यौँ भने मान्छेले छोडेर हिँड्नुपर्ने अवस्था आउने छ । हामीले एउटा सीमाभित्र बाघको संरक्षण गर्नुपर्छ । र बाघको वृद्धि पनि एउटा सीमाभित्र मात्र गर्नुपर्छ ।’
उहाँले बाघको सङ्ख्या धेरै भएको नेपालले छिमेकी देशहरुलाई समेत बाघ उपहार दिनसक्ने बताउनुभयो । नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएकोमा भद्रको निधन भएकोमा अब त्यसको ठाउँमा अर्को उपहार दिने चाहाना व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी विभिन्न देशहरुलाई बाघ उपहार दिन सक्छौँ । विभिन्न देशलाई गैँडा उपहार दिएका छौँ । चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएका थियौँ । मैले चीनका साथीहरुसँग भेट हुँदा भद्र र रुपसीको स्वास्थ्य अवस्था सोध्ने गर्थे तर दुर्भाग्यवस भद्रको निधन भयो अब त्यसको ठाउँमा अर्को उपहार दिनुपर्छ होला ।’