काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ मूल्यवृद्धि सीमित राख्ने लक्ष्य लिएको जानकारी दिनुभएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उहाँले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उहाँले चालु वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको पनि जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालमा पछिल्लो समय थप मुद्रास्फीति बढ्न थालेको छ । भारतमा खाद्यन्न तरकारी, गेडागुडी र दालजन्य सामग्रीको मूल्य उच्च रहेको र जारी रुस युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनीतिक तनाब कायमै रहेको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यन्न मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहेने अनुमान रहेको छ । जोखिमहरु रहेको भएतापनि चालु वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको छ ।’
त्यस्तै, उहाँले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको पनि बताउनुभयो । अघिल्ले वर्षको तुलनामा कुल ग्राहस्त उत्पादनमा सुधार भएको अनुमान गरिएता पनि नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून रहेको र बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमान गरिएभन्दा कम रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको छन् । अघिल्ले वर्षको तुलनामा कुल ग्रहास्त उत्पादनमा सुधार भएको अनुमान छ । तर, नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून रहेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमान गरिएभन्दा कम छ । निष्क्रिय कर्जा अनुपात बढेको छ । विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेको छ ।’