काठमाडौँ, ९ साउन । बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सिआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुग्नुभएको थियो ।
उहाँले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिनुभयो ।
दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाउनुभएको छ । उहाँले नेपाल वायुसेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरुसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताउनुभयो ।
आगामी दिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिक कमजोरी के थियो पत्ता लगाउन मन्त्री पाण्डेले सम्बन्धित निकायका कर्मचारीहरुसँग छलफल अगाडि बढाउनुभएको हो ।
दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले पनि घटनास्थलको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सम्बन्धित कर्मचारीहरुसँग छलफल समेत गर्नुभएको थियो ।
उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिइ १८ जनाको शव संकलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको नागरिक उड्डयन प्राधिकरणले बुधवार दिउँसो विज्ञप्तिमार्फत् जनाएको छ ।
प्राधिकरणका अनुसार सो विमान ‘एनुअल मेन्टेनन्स प्रोग्राम’का क्रममा थियो । सो विमान त्रिभुवन विमानस्थलको उत्तरपूर्वी भेगमा खसेको थियो ।