काठमाडौँ, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।
लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।
संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो ।
बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धनअन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुहुन्थ्यो । तर, एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिनुभएको थियो ।
लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।