काठमाडौँ, ८ साउन । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि गहन छलफल हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले मिडिया मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ । प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ । प्रेस स्वतन्त्र मात्र भयो तर मर्यादित भएन भने समाजमा ठुलो नकारात्मक असर पर्न सक्छ । प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो ।’
उहाँले विधेयकलाई समयमा नै टुंग्याउनुपर्ने भन्दै तीव्र रुपमा छलफल अगाडि बढाउन पनि आग्रह गर्नुभयो । त्यस्तै, बैठकमा प्रेस स्वतन्त्रता कायम गरी काउन्सिललाई नियामक निकायको रुपमा राख्नु पर्ने सांसदहरुको जोड थियो ।
‘मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रमाथि प्रहार गरेको भन्ने समितिमा आउने अधिकांश अथितिहरुले कुरा उठाउनुभएको छ । संविधानले व्यवस्था गरेअनुसार विधेयक आएको छ कि छैन ? यसका विषयमा कसरी छलफल गरेर अघि बढ्ने यस विषयमा गम्भीर भएर छलफल गरौँ,’ सांसद कृष्णप्रसाद भट्टराईको भनाइ थियो ।