मुगु, ४ साउन । मुगुको कार्मारोङ्ग गाउँपालिकाले लुटेरा समूहलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
मुगुम कार्मारोङ्ग गाउपालिका वडा नम्बर १ मा रहेको डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले लुटेरा समूह र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
गएको जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयबासीहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी लुटपाट गर्ने ८ जनाको समूहले करोडौँको सामान लुटेका थिए ।
३० दिन लामो अनुसन्धानपछि नेपाल प्रहरीले लुटेरा समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ भने अझै ५ जना फरार रहेका छन् ।
सदरमुकाम गमगढीदेखि टाढा रहेको बस्तीमा लुटेराहरुको पहिचान गरी केही सामानसहित तीन जनालाई पक्राउ गर्न सफल भएकोमा पालिकाले नेपाल प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापा र जिल्ला प्रहरी कार्यालयलाई एक कार्यक्रमगरी सम्मान गर्नुका साथै दोसल्लाह ओडाएर सम्मान गरेको हो ।
लुटेरा समूहले गाउँका २४ वटा घर एक गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४.५ तोला बुद्धको मूर्ति, मूर्ति, मुगाको माला ९५ तोला,यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
घटनालगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिंह कमाण्डमा खटिएको टोलीले ७ वटा स्थानमा अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ परेका तीन जनाबाट कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, एकवटा ट्रेकिङ झोला र एकवटा सल बरामत गरेको थियो ।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिकाका वडा नम्बर ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।
सम्मान कार्यक्रममा मुगुम कार्मारोङ्ग गाउँपालिकाका उपाध्यक्ष छिरिङ्ग फुटी लामा, प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावल, सूचना तथा प्रविधी अधिकृत सोबेन्द्र बहादुर मल्ल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दान बहादुर बुढा र सचिव जीवन सेजुवाल समेतको उपस्थिति थियो ।