काठमाडौँ, ३ साउन । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि आएको बाढी पहिरोलगायतका विपद्मामा परी हालसम्म १२५ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्मामा परी काठमाडौँ उपत्यकामा दुईजना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १२५ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । यसैगरी कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी आठ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका छन् । २२२ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५८५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७२१ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।