सङ्खुवासभाको सिलिचोङमा पहिरोमा परेर सासुबुहारीको मृत्यु, छोरी घाइते
खाँदबारी, १ साउन । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ मा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आज बिहान ५ बजे मोतीमाया राईको घरमा पहिरोसँगै ढुंगा झर्दा टाटी बेरा भएको घरभित्र रहेका ६ जनामध्ये घर धनी ५५ वर्षीया मोतीमाया राई र बुहारी २७ वर्षीया समीक्षा राईको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको हो । पहिरोबाट छोरी २७ वर्षीया रबिना राई घाईते भएकी छिन् ।
घाइते रबिनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
घरका अन्य सदस्य ज्वाई नाताका ३३ वर्षीय मनि कुमार राई, नाती १२ वर्षीय अमिर राई र नतिनी ४ वर्षीया समृद्धि राईलाई सकुशल उद्धार गरिएको छ ।
घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गई उद्धार कार्य भइरहेको छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।