चितवन, २८ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ ।
प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । पहिचान खुलेका यात्रुको नाम ठेगाना आउन बाँकी छ ।
काठमाडौँबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । काठमाडौँको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्जबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए । तर, सो बसमा बीच बाटोबाट यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीबाट ७५ जनाको प्रहरी टोली खटी गई खोज तथा उद्दार भइरहेको छ । उक्त उद्धार कार्यमा नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मी सक्रिय छन् ।