काठमाडौँ, २७ असार । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधि क्षेत्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने भएका कारण आइसिटी क्षेत्रको विकासका लागि सरकारले नेपालको आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसिटीलाई समेत समावेश गरेको बताउनुभएको छ ।
बिहीबार ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अगामी आर्थिक वर्षको बजेटमा २०८० को दशकलाई नै आइसिटी दशकका रुपमा मनाउने सरकारले नीति लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको युग आइसिटीको युग हो । आइसिटी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने क्षेत्र हो । यसमा हामी कसैमा पनि दुईमत हुनु हुँदैन । पछिल्लो समयमा आएर नेपाल सरकारले सूचना प्रविधिको महत्त्वलाई आत्मसाथ गर्ने कुरामा गम्भीर भएर लागेको छ । आइसिटी क्षेत्रको विकासका लागि सरकारी तहमै एकरुपता थिएन । आज पनि कतिपय कुरामा छैन । तर, पनि हामी लामो समयको छलफलपछि एकरुपता बनाउन सफल भएका छौँ । अहिलेको बजेट कार्यक्रममा नेपालको आर्थिक विकासका रणनीतिक क्षेत्र भनेर आइसिटीलाई समावेश गरेका छौँ । यसभन्दा पहिले कृषि, उर्जालगायतका क्षेत्रमा मात्र सरकारको ध्यान जाने गरेकोमा आधुनिक विश्वको बढ्दो प्रविधिलाई पनि सरकारले प्राथमितामा राखेको छ ।’
गत आर्थिक वर्षमै सातवटै प्रदेशमा आइसिटी रिसर्च सेन्टर स्थापना गर्ने र सबै तहका सरकारसँग समन्वय गर्ने नीति लिएको भएपनि दुरसञ्चार प्राधिकरण विभिन्न समस्यामा अल्झिँदा त्यो कामले पूर्णता पाउन नसेकको उहाँको भनाइ छ ।