पशुपतिमा कोटीहोम महायज्ञ पवित्र उद्देश्यका लागि हो : आयोजक

18

काठमाडौँ, २५ असार । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आउँदो साउन १ गतेदेखि बृहत् कोटिहोम महायज्ञको तयारी भइरहेको छ । तयारी र प्रचारका लागि सोमबार काठमाडौँमा ट्याक्सी र्‍यालीसमेत आयोजना गरियो ।

मानव सेवा फाउन्डेसनलगायत झन्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत् ट्याक्सी र्‍याली आयोजना गरिएको हो ।

आयोजक समितिका खेमराज रेग्मीले विषेषगरी कोटीहोम आश्रममा रहेका वालवालिकाहरुका लागि आफ्नो घरमा राख्नका लागि आयोजना गरिएको बताउनुभयो । उहाँले ८२ भन्दा बढी बालबालिकाहरु मामाघर अनाथालय आश्रममा भाडाको घरमा बस्दै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संसारको सबैभन्दा ठुलो धर्म भनेको मानव धर्म हो र ठुलो सेवा नै मानव सेवा हो । मानव सेवा फाउन्डेसनले असाह्य बालबालिका लागि काम गरिरहेको छ । ललितपुरको गोदावरी नगरपालिका १४ मा रहेको मामाघर अनाथालय आश्रममा ८२ वालवालिका आमाबुबाविहीन अवस्थामा छन् र उनीहरुका लागि आश्रम व्यवस्थापनले अभिभावकको कर्तव्य निभाएको छ । तर, अब आफ्नै घर निर्माण गरी सुविधा सम्पन्न रुपमा उनीहरुलाई बासको व्यवस्था गर्न हामीले यो कोटीहोमको भव्य तयारीमा लागेका हौँ ।’

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

साथै विश्व परिवेश वितृष्णामा रहेकाले मानिसहरू तनावमा रहेका बेला अध्यात्मक मार्गबाट जीवन बदल्न सकिने भएकाले आर्शीवचन तथा कथा प्रवचन कार्यक्रम राखिएको बताउनुभयो । मन तथा जीवनको शान्तिका लागि पनि महायज्ञ कार्यक्रम गरिने रेग्मीले बताउनुभयो ।

यस्तै, प्रदीपसिंह थापाले कोटीहोमका लागि यसअघि बृहत् मोटरसाइकल र्‍यली गरिसकेको बताउनुभयो । ट्याक्सी र्‍यालीपछि कलश यात्रा गर्न लागिएको उहाँले जनाउनुभयो । यसैगरी थापाले नगरबासी सबैमा कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।

एकमहिने सो विराट ज्ञानमहायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तान्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...