बाढीपहिरोबाट १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

15

काठमाडौँ, २५ असार । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

सडक विभागको रिपोर्ट अनुसार, सङ्खुवासभा, लमजुङ, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन् ।

सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ ।

बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् ।

यो वर्षको मनसुन सुरु भएयता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ । यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८÷१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४÷४ जना र मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

विपद्मा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर अहिलेसम्म दुई हजार २९६ परिवार विस्थापित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...