काठमाडौँ, २३ असार । शुक्रबार रातिदेखिको परेको अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक र राजमार्गहरु अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको रिपोर्टअनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका १७ स्थानमा पहिरो खस्दा विभिन्न सडक तथा राजमार्गहरु अवरद्ध भएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशका १७, कर्णाली प्रदेशका तीन, सुदूरपश्चिमका पाँच, बागमतीका ६, कोशीका तीन र गण्डकी प्रदेशका नौं स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण केही स्थानमा एकतर्फी रुपमा सडक सञ्चालन भइरहेका छन् भने केही ठाउँहरुमा पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा आएको बाढीले दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको छ । यस्तै, रसुवाको स्याफ्रुवेशी धाम्बुचेत सडक खण्डमा पहिरो खस्दा सडक सूचारू गर्न १० दिन लाग्ने नेपाली प्रहरीले जनाएको छ ।
अविरल वर्षाले गर्दा पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ मा खसेको पहिरोले हटाई अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ । यस्तै, कान्ती लोकपथ र बीपी राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएका छन् ।
बाढीले गर्दा मनाङको चामे बेँसीसहर सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक सुचारू गर्न ५ देखि ६ दिन लाग्ने जनाइएको छ ।
यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी पूर्वको गैडाकोटमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।