पत्रकारितामा नक्कल गर्ने विकृति बढ्दो छ : रामकृष्ण रेग्मी [भिडिओ]

21

काठमाडौँ, २३ असार । प्राध्यापक एवम् आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीले मिडिया क्षेत्रमा आएको परिवर्तनका कारण आम सञ्चारकर्मीहरुलाई अब विगतमा हासिल गरेको सीपले मात्र नपुग्ने बताउनुभएको छ ।

सञ्चारकर्मीले तथ्य र तर्कका भरमा दुवै पक्षलाई समेट्न सक्नुपर्ने बताउँदै उहाँले पत्रकारले उठाउनैपर्ने कुरालाई एकदमै थोरै छुने र नउठाए पनि हुने कुरालाई धेरै महत्व दिने गरेको बताउनुभयो ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘पत्रकारितामा हुबहु नक्कल गर्ने विकृति ज्यादै छ । यसलाई रोक्न सम्पादक होइन, संवाददाताले भूमिका खेल्नुपर्छ । म ‘कपीपेस्ट’ गर्दिनँ भनेर भित्रैदेखि सहमत हुनुपर्छ । यही नहुँदा हामी ‘रिपोर्टिङ प्रदूषण’ मा छौँ । संवाददातामा समाचार संकलनका लागि फिल्डमै पुग्नुपर्छ भन्ने मानसिकता नै छैन । पत्रकारितामा अध्ययन संस्कृति घटेको छ ।’

साथै उहाँले अहिले नेपालका आमसंचारमाध्यम एउटा चौबाटोमा गइरहेको बताउनुभयो । उहाँले एकातिर टेक्नोलोजीको स्मार्ट प्रयोग गर्नुपर्ने सम्भावना धेरै छ भने अर्कोतिर रिपोर्टिङको अभ्यासलाई परिनर्तन नगरी नहुने अवस्था आएको उहाँको जिकिर छ ।

रेग्मीले आवाजहरूलाई सशक्त बनाउने, सत्यलाई उज्यालो बनाउने प्रेसको शक्ति अर्थात् आमसंचार जगत अहिले मौन रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको प्रविधिमा सूचना प्रवाहलाई निरन्तरता दिन र प्रयोगकर्ताहरूले चाहेको जस्तो सुसूचित सूचना दिन आमसंचार माध्यमले सकिरहेको छैन, यसका लागि सामग्रीका स्वरूपहरू परिवर्तन हुनुपर्दछ ।’

यसैबीच उहाँले सोसल मिडियामा अहिले जुन परिवर्तन आइरहेको छ त्यसलाई एक किसिमको रिस्पोन्स गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सोसल मिडियाबाट सबै सामाग्री आइरहेको हुन्छ भनेर हामी आमसंचार जगतले त्यत्तिकै बस्न मिल्दैन । त्यसैले रेडियोको पनि यहाँ उत्तिकै भूमिका छ, टेलिभिजनको लागि पनि भूमिका छ, पत्रपत्रिका र अनलाइनहरूको पनि उत्तिकै भूमिका छ ।’

साथै उहाँले कन्टेन छान्ने र कन्टेनलाई विश्वसनीय बनाउने काममा आमसंचार माध्यमले जोड दिनुपर्ने बताउनुभयो । ‘हाम्रो भूमिका सिद्दियो सोसल मिडियामा सबै गयो भनेर आमसंचार माध्यमले चुप लागेर बस्नु हुँदैन,’ उहाँले भन्नुभयो ।

अहिले संचार जगतमा ठुलो परिवर्तन आएकोले पत्रकारको प्रतिनिधित्व संस्थाले सधैँ अगाडि जानुपर्ने बताउनुभयो । प्रतिनिधित्व संस्थाले पत्रकारहरूको सर्वव्यापी हित मात्र नभइ यो पेसालाइ नै योगदान दिनुपर्ने उल्लेख गर्नुभयो ।

साथै पत्रकारिताभित्र आएका परिवर्तनहरूलाइ पत्रकारहरूले पनि समाचार कक्षभित्र जानु अगाडि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले थुप्रै टेक्नोलोजीको सम्भावनाहरू रहेकाले यसमा बाधा पर्न नहुने बताउँदै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न, जनाताको सुसूचित हुने अधिकारमा पत्रकारले गर्ने जुन भूमिका हुन्छ त्यसमा कहिँकतै आँच नआउने किसिमको नियमहरू आउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुरानो नियमले भ्याउँदैन । नयाँ नियम आउनु नै पर्छ तर यी आएका नियमहरूले कहीँ अभिव्यक्ति स्वतन्त्रतालाई अप्ठ्यारो गर्ने, सूचना पाउने जनताको अधिकारलाई हनन् हुने किसिमका नियमहरू आउनु हुँदैन । ’

साथै उहाँले अहिलेको युग परिवर्तनको युग भएको बताउनुभयो । युग परिवर्तन भए पनि जनताको सुसूचित हुने अधिकारलाई जोगाउने जिम्मा पत्रकारिता पेसालाई नै भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...