काठमाडौँ, २२ असार । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
शनिबार एसइई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले एसइईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, उहाँले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाव दिनुभयो ।
‘ठुलो पदले मात्र ठुलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरुका लागि काम र कल्पना गर्न सक्छौँ, त्यो बेला नै हामी ठुलो मान्छे र असल नागरिक बन्न सक्छौँ । रोजेको पेशाबाट राष्ट्रको लागि काम गर्न सक्छौँ,’ उहाँले भन्नुभयो ।