काठमाडौँ, १७ असार । आगामी श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ ।
आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि महायज्ञ संचालनको तयारीमा छन् । उपत्यकाभित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भइ निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाइ छ ।
उपत्यकाबाट अहिले दैनिक समूहका पदाधिकारीहरु तथा व्यक्तिगत रुपमा सयौँको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको संख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।
यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउन्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।