रौतहटमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

52

रौतहट, १५ असार । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् ।

शनिबार बिहान गौर चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर –१ स्थित जयनगर चोकमा पौने आठ बजेतिर बस सडकमै पल्टिएको हो । दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा– ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरी रहेकी छन् ।

दुर्घटनामा बसमा सवार २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको छ । दाससहित अन्य सात जना घाइतेहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले घाइतेहरुको शिवनगर र गरुडाका अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

गौरबाट भैरहवातर्फ जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको गिरीले जनाकारी दिनुभयो ।

बस चालक भने फरार रहेकाले निजको खोजी कार्य भइरहेको र दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...