पुस्तकालयसम्बन्धी ऐन निर्माणमा पहल गर्छु : कानुनमन्त्री गिरी

17

काठमाडौँ, १३ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुस्तकालयसम्बन्धी ऐन निर्माणमा पहल गर्ने बताउनुभएको छ ।

आज सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको प्रथम बागमती प्रदेश सम्मेलनमा सहभागी उहाँले ऐन अभावमा पुस्तकालयहरु नियमावली र निर्देशिकाबाट चलिरहेको भन्दै ऐन निर्माणको पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि पुस्तकालयहरु एउटा एनजिओसरह दर्ता भएर काम गर्नुपर्ने अवस्था छ । पुस्तकालयसम्बन्धी ऐन छैन । नियमावली र निर्देशिकाबाट सञ्चालित छ । त्यसकारण जस्तोलाई पनि पुस्तकालय भनिएको छ । जस्तो पाए त्यस्तो किताबहरु बजारमा आइरहेका छन्, त्यससम्बन्धी पनि ऐनहरु बन्नुपर्छ । यो सबै पक्षमा छलफल गरेर कहाँ के गर्नुपर्ने हो म गर्छु, तपाईंहरुलाई विश्वास दिलाउन पनि चहान्छु ।’

यस्तै, मन्त्री गिरीले पुस्तक पढ्नेको संख्या कम हुँदै गएको चर्चा गर्दै पुस्तकालयलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘पुस्तकालयलाई समय सापेक्ष बनाउनैपर्छ । यसलाई प्रविधिमैत्री बनाउनुपर्छ । इतिहासदेखि जे जति हामीसँग उपलब्ध छन् त्यो सबै विवरणहरुलाई पुस्तकालयभित्र संरक्षण गर्ने, त्यसलाई पठनीय बनाउने, पढ्नका लागि उपयुक्त हुने हिसाबले निमार्ण गर्दै लाने काममा लाग्नु पर्छ,’ मन्त्री गिरीले भन्नुभयो ।

उहाँले सामुदायिक पुस्तकालय निर्माण र विस्तार कार्य जटिल र कठिन अभियान भएको उल्लेख गर्दै सो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...