काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ।
७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्यसँगै बोर्डले नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन् । अध्यक्ष शर्माका अनुसार २२१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, १८६ जनाले चार जिपए ल्याएका छन् ।
परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारी नसकिएपछि नतिजा आज सार्वजनिक भएको छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले एसइई नतिजा हेर्न परिक्षार्थीका लागि सार्वजनिक सूचना यसअघि नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ ।
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।