काठमाडौँ, १२ असार । नार्कोनन नेपालका निर्देशक एवम् पूर्ववरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नेपालको राजवंश लागू औषधले सिध्याएको दाबी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा बुधबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै कुँवरले २४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागु औषध भएको दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजवंश लागु औषले नै सिध्यायो, संसारले माया गर्ने माइकल ज्याक्सन त्यसैले सिध्यायो । आउने समाज समेत लागु औषधले बरबाद पार्दै छ । लागु औषध नियन्त्रणको नीति तीनै तहको सरकारले प्राथमिकतामा राख्न आवश्यक छ । यति लामो राजसंस्था त गाँजाले सिध्याउँछ भने आम मान्छे के होला ? प्रतिवेदनले नै सार्वजनिक गरेको हो नि । गोमान सर्पको विष औषधि हुन्छ भनेर घर घरमा गोमन पाल भन्नु त भएन नि । सरकारलाई चाहिएको हो एकठाउँमा पार्क जस्तो बनाउने तर घर घरमा बाड्ने होइन ।’
नेपालमा अहिले झन्डै सात लाख मानिस लागु औषधको लतमा रहेको भए पनि ६ हजार पाँच सय जना मात्र रिह्याब सेन्टरमा रहेको कुँवले बताउनुभयो ।
सरकारी रिह्याब सेन्टरको स्थापना गर्नुको सट्टा भएका निजी रिह्याब सेन्टर समेत बन्द गर्न उद्दत रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा अहिले झन्डै सात लाख लागु औषध सेवन गर्ने रहेका छन् । रिह्याब सेन्टरहरुमा ६ हजार पाँच सय जना रहेका छन् । बाँकी ६ लाख ९३ हजार जनाले बाहिर समाज भड्काउने र बिथोल्ने काम गरिरहेका छन् । रिह्याब सेन्टर त एउटा लागु औषध नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश मात्र हो । सरकारको एउटा पनि रिहाब सेन्टर छैन । भएका रिहाब सेन्टर पनि बन्द गर्न चाहान्छ । तर, त्यस्तो होइन, बन्द गर्न होइन बरु आफूले पनि खोल्ने हो । नेपालको संविधानमा नै स्वास्थ्य सरकारको जवाफदेहीता हो । सरकारले एउटा पनि नखोल्ने भएकालाई बन्द गरिदिने ?’
सरकारले ल्याउने बजेट र विदेशबाट आउने बजेटलाई समेत लागु औषध नियन्त्रणमा प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।