काठमाडौँ, १२ असार । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपाली नागरिकहरुको बाहुल्यता भएका देशहरुमा अनलाइनबाट मतदानको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित एकीकृत मस्यौदा ऐनको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख रानाले विदेशमा रहेका नेपालीहरुको मतदानको सुनिश्चितताका लागि गर्न अनलाइन भोटिङको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एनआरएनएसँग राजनीति र प्रशासनिक सम्बन्ध कुनै छैन । तर, वैदेशीक रोजगारीमा गई रेमिट्यान्स पठाउने नागरिकका लागि अनलाइन भोटिङको व्यवस्था गर्न आवश्यकता छ । काम गर्नका लागि विदेश गएका नेपाली नागरिकहरुको बहुल्यता भएका ठाउँहरुमा अनलाइन भोटिङ स्टेसन निर्माण गर्नुपर्छ ।’
त्यस्तै, उपसभामुख रानाले नेपालमा पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै भएपनि महिलाले आफ्नो अधिकारको लागि लडिरहनुपरेको बताउनुभयो । महिला, जनजातिको बाहुल्यता भएको क्षेत्रमा महिलालाई नै अगाडि सारेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
‘नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै भएपनि आफ्नो अधिकारको लागि अझै लड्नुपर्ने आवश्यकता रहेको छ । महिला, जनजातिको बाहुल्यता भएको क्षेत्रमा महिलालाई नै अगाडि सार्न अगाडि बढौँ । जुन क्षेत्रमा जसको बाहुल्यता छ उसलाई नै अगाडि सार्ने हो । मधेस भनेको छ,’ उहाँले भन्नुभयो,‘यावद र साहले मात्र नेतृत्व गरेको छ । मधेसमा दलित र सिमान्तकृत नागरिक पनि त छन् नि । निर्वाचन आयोगले कलस्टरमा राख्दाखेरी त्यो कुरा पनि त राख्नुहुन्छ होला नि । नेतृत्व तहमा भौगोलिक समावेशीतामा आवश्यक छ । एकीकृत कानुनमा सबैको समान प्रतिनिधित्व गरिनुपर्छ ।’