काठमाडौँ, १२ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले थेरापिस्ट र काउन्सिलरहरुको लागि मन्त्रालयले लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताउनुभएको छ ।
दुर्व्यसनीमा फसेकाहरुको मानसिक स्वास्थ्यको उपचारमा संलग्न हेल्थ काउन्सिलर तथा थेरापिस्टहरुको लागि सामाजिक र पारिवारिक सहयोग प्रणालीको विकास गर्न आवश्यक रहेको औँल्याउँदै मन्त्री श्रेष्ठले नेपाल हेल्थ प्रोफेसनल काउन्सिलसँगको सहकार्यमा थेरापिस्ट र काउन्सिललाई लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताउनुभयो । यसो गर्दा आवश्यकता परेकालाई सहयोग मिल्ने धारणा उहाँको छ ।
‘नेपालमा अहिलेसम्म थेरापिस्ट र काउन्सिरहरुको लागि लाइसेन्स दिने व्यवस्था छैन । स्वास्थ्य मन्त्रालय र नेपाल हेल्थ प्रोफेसनल काउन्सिलसँग मिलेर हामिले लाइसेन्सको व्यवस्था गर्दैछौँ । ताकि तपाईंलाई सहयोग चाहिँदा कहाँ जाने, कोसँग लाइसेन्स छ भन्ने थाहा पाउन सकिन्छ । यसो गर्दा सहयोग गर्ने सेन्टर पनि बढ्छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।
उहाँले कुनै पनि व्यक्ति पारिवारिक वा अन्य कारणले दुर्व्यसनीमा परिसकेपछि उसलाई बाहिर ल्याउन परिवार वा साथीको सहयोगको आवश्यकता पर्ने भएकाले उसलाई जजमेन्ट नगरी समस्यामा परेकाको कुरा सुनिदिनु पर्ने र सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले कसैलाई ब्लडप्रेसर वा सुगर भइसकेपछि पहिला किन व्यायाम नगरेको भनेर भन्दैनौ नि । त्यसरी नै एडिक्सनमा परिसकेपछि व्यक्तिलाई जजमेन्ट नगरी उसलाई सहयोगको आवश्यकता छ, म सक्छु, उसलाई सहयोग गर्छु भनेर एउटा कम्युनिटी बनाऔँ । लागु औषधसँगै मादक पदार्थ सेवन गर्नेको पीडित परिवार मिलेर हामीले कम्युनिटी बनायौँ भने एक अर्कामा सहयोग सिस्टम बन्छ । यो चाहिँ सरकारले भन्दा पनि आफैँले गर्ने हो । यसमा हामी सबैले सहयोग गर्न सक्छौँ । जो दुर्व्यसनीमा पर्नुभएको छ उहाँहरु र परिवारको लागि पनि आफूले आफैँलाई सहयोगको केन्द्र बनाउन सक्छौँ ।’
यस्तै, मन्त्री श्रेष्ठले दुर्व्यसनी रोकथामको कुरा गरिरहँदा पाठ्यक्रमलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयका पाठ्यक्रममा आवश्यक सुधार गर्न आफूहरु लागेको जानकारी दिँदै ‘समाजसँग पाठ्यक्रम’ मन्त्रालयले ल्याएकोले त्यसमा दुर्व्यसनीसँगै मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्न आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
‘हामीले मानसिक स्वास्थ्यमा पनि काम गर्नु छ । त्यसैले यहाँ (दुर्व्यसनीको सुधारमा) काम गरिरहनुभएका साथीहरु जसलाई साँच्चै रोकथाम गर्न सकिन्छ भन्ने थाहा छ तपाईंहरुले ‘समाजसँग पाठ्यक्रम’ मा प्रतिक्रिया दिनुहोला’ मन्त्री श्रेष्ठले भन्नुभयो ।