काठमाडौँ, १२ असार । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।
यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।
आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्याली निकाल्दै छ । साथै, प्रहरीले वर्षभरिरी नेपालका भएका घटनाको विवरणसमेत सार्वजनिक गर्दै छ । यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोगना गर्दै छन् ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ ।
विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरु युवा वर्ग नै रहेका छन् । राष्ट्रका प्रतिनिधि उनीहरुलाई लागु औषधको कुलत र अपराध कर्ममा संलग्न हुनबाट रोक्नु सभ्य समाजको निर्माणमा योगदान गर्नु हो ।
किनभने युवाहरु लागु औषधको प्रयोगमा लागे भने उनीहरुलाई कुलतबाट छुटकरा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञहरुले धारणा राखेका छन् ।
विश्वमा पछिल्लो एक शताब्दीबाट लागुऔषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ । लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्यांक छ ।
सन् २००१ मा भारतमा सरकार र अल इन्डिया मेडिकल स्कुलले गरेको संयुक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागु औषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बरभन्दा धेरै भएको अनुमान छ ।
खुला सिमानाका कारण नेपालका सीमा क्षेत्रसँग जोडिएका जिल्ला लागु औषधको कारोबारबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गइरहेको पाइन्छ भने सीमा नाकाबाट दैनिक लागु औषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भइरहन्छन् । यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका सिकार हुने गर्दछन् भने उनीहरु विभिन्न अपराधिक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ । अर्कातिर समाजमा अपराधिक गतिविधि बढ्दै गइरहेको पाइन्छ । नेपालमा पनि सन् १९६० पछि लागु औषधको कारोबार र प्रयोग बढ्दै गैरहेको पाइन्छ ।
नेपालका विभिन्न शहरहरुमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ ।
तसर्थः यो समस्या न्यूनीकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।