प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

9

काठमाडौँ, ११ असार । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको थियो ।

उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुभएको थियो । परराष्ट्रमन्त्री श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन इरान जानुभएको हो ।

बजेट पारित गराउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपालगायत सत्तापक्ष दलले ह्विप जारी गरेका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटको विपक्षमा मतदान गर्न र बजेट पास नहुञ्जेल संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको थियो ।

बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...