काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सीमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताउनुभएको छ ।
आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सीमा रहेहका बताउँदै उल्लेखित सीमाभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मौद्रिक नीतिको आफ्नै सीमा छन्, यसले धेरै हात फैलाउन र हाँगा फैलाउन सक्दैँन । त्यो सीमाभित्र बसेर हामीले काम गर्ने हो । यो कुरालाई सबैले बुझ्नुपर्छ । हामी नीति निमार्ण गर्नेहरुको भूमिका सकेसम्म कसैलाई ऋणमा डुबाउने होइन, उसले धान्न सक्नेसम्म ऋण दिने र त्यो खालको बाटो वातावरण बनाउने हो ।’
बैंकमा ऋण लिँदा कमिसन लिएको आरोप केन्द्रीय बैंकका लागि गम्भीर आक्षेप भएको भन्दै प्रमाणविना बोल्न पाए भन्दैमा जे पनि बोल्न नपाइने अधिकारीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यहाँ विरोधका लागि विरोध होइन, व्यवहारिक रुपमा समस्या पर्यो भने त्यो लिएर आउनुस्, राष्ट्र बैंक खुला छ । बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने कुरा हाम्रो लागि पटक्कै स्वीकार्य छैन । हाम्रो कानमा पर्दा पनि यहाँभन्दा ठुलो बैंकिङ अपराध केही पनि हुँदैन । त्यो कुन बैंकले गरेको हो त्यसको नाम लिनलाई म अनुरोध गर्छु । बिना प्रमाण र आधारका कुरा यस्ता फोरममा गरेर केही अर्थ हुँदैन । हामीले सयौँ जनालाई कारबाही गरेका छौँ । यो हाम्रो लागि केन्द्रीय बैंकका लागि योभन्दा गम्भीर कुरा र आक्षेप बैंकको लागि केही पनि हुँदैन । त्यसको प्रमाण चाहिन्छ फोरममा बोल्न पाए भन्दैमा जे पनि बोल्न पाइन्न ।’
मौद्रिक नीतिका लागि गृहकार्य थालिएको उल्लेख गर्द अधिकारीले साउनभित्रै ल्याउने दाबी गर्नुभयो ।