अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर अधिकारी

14

काठमाडौँ, १० असार । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताउनुभएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशभित्र राम्रो अवसर छ । तर, आ–आफ्नो व्यवसाय गर्दा स्वमूल्यांकन चाहिँ गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ । हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्‍याइदिने संस्कृति विकास हुँदै छ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त ?’

राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गर्नुभएका अधिकारीले आवश्यक सुझावहरु संकलन गरिरहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...