सुशील प्याकुरेलद्वारा राजदूत बन्न अस्वीकार

22

काठमाडौँ, ९ असार । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार गर्नुभएको छ ।

दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत नदिइएको भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको छ । उहाँलाई सरकारले नेकपा (एमाले)को कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो ।

‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत दिइएन । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु,’ प्याकुरेलले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उहाँले प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई पत्र बुझाइसकेको समेत प्याकुरेलले जानकारी दिनुभएको छ ।

‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...