परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

13

काठमाडौँ, ८ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गर्नुभएको छ ।

इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अपरान्ह त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् ।

एसिडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् ।

मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...