‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ घोषणा

32

काठमाडौँ, ३ असार । कोशी प्रदेशमा आगामी वर्ष २०२५ लाई एक लाख पर्यटन भित्र्याउने लक्ष्यसहित मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने घोषणा भएको छ । उक्त घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका सांसद सुदन किरातीले संघ सरकारले ट्रेलका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई पनि पर्याप्त बजेट हाल्न आग्रह गर्नुभयो ।

सोमबार मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले काठमाडौँको पर्यटन बोर्डको सभाहलमा ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मनाउने घोषणा भएको हो । मुन्दुम ट्रेल ऐतिहासिक र सांस्कृतिक पदमार्ग भएकाले यो अरु पदमार्गभन्दा भिन्न र संस्कृतिमैत्री विकासको नमुना नै भएको धारणा किरातीको छ ।

उहाँले उक्त ट्रेल छोटो समयमै आकर्षक गन्तव्यको रुपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै भन्नुभयो, ‘यो पदमार्गमा ५० वर्ष पहिलेदेखि पूर्खाले हिँडेको इतिहास छ, त्यसलाई ७ वर्षमा हामीले यतिधेरै स्थापित गरिसकेका छौँ ।’

किरातीले कार्यक्रममा सँगै रहेका कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई भन्नुभयो, ‘यहाँ हिक्मतजी हुनुहुन्छ, मुन्दुम पदमार्गको लागि तपाईंले यसपालि बडो ठुलो दिल बनाएर बजेट छुट्याउनु ।’

यस्तै, किरातीले पदमार्गको प्रवर्द्धनका लागि मौसमको जानकारी पदयात्रीलाई दिनेगरी ऋतु अनुसारको ब्राण्डिङ गरी रैथाने संस्कृति र प्रकृतिमैत्री विकास गर्नुपर्ने, पदमार्गमा पर्ने सांस्कृतिक, धार्मिक आस्था र विश्वासको पौराणिक कथनका बारेमा विस्तृतमा अध्ययन गरी प्रष्ट मार्गचित्र बनाउनुपर्ने, भविष्यमा वर्तमान समयलाई अध्ययनको स्रोत बनाउन सक्नेगरी ट्रेलबारे वृत्तचित्र बनाएर ट्रेलको खास खास स्थानहरुमा प्रदर्शन गर्ने वातावरण बनाउनुपर्ने र पुर्खाको संस्कृतिलाई भौतिकीकरण गरी खुला सांस्कृतिक संग्राहलयको अवधारणामा जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा खोटाङका प्रतिनिधि सभा सांसद रामकुमार राईले संस्कृति, प्रकृति र प्रदेशको ग्रामीण अर्थतन्त्रसँग समेत जोडिएको पदमार्ग प्रदेशकै लागि निकै महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि दलले आग्रह पूर्वाग्रह राखेर मुन्दुम ट्रेललाई राजनीतिक थलो बनाउन हुँदैन । राजनीति गर्ने थलो अर्कै ठाउँमा छ, त्यहाँ गएर गरौं । मुन्दुम ट्रेलको जे उद्देश्य र लक्ष्य छ, त्यसलाई पूरा गर्न हामी सबै एक ठाउँमा आएर एक हुनुपर्छ, अनि मात्र हामी सफल हुन्छौँ ।’

उहाँले खोटाङ पुग्ने पर्यटकले त्यहाँ निकै कम खर्च गर्ने गरेको उदाहरण दिँदै ट्रेलमा जाने पदयात्रीले धेरै खर्च गर्ने वातावरण बनाएर आर्थिक हिसाबले विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गोठस्टे र होमस्टेहरु सञ्चालनबाट माथि उठेर ट्रेलमा लगानीको भविष्य देखाउनुपर्ने धारणा राख्नुभयो । आगामी वर्षको अभियान सफल हुनेमा उहाँ ढुक्क देखिनुभयो ।

‘कोशी प्रदेशको भाषा, संस्कृति, प्रकृतिदेखि सबैसँग जोडिएको मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ सफल हुन्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, उक्त ट्रेलको प्रवर्द्धन गरी पर्यटन वृद्धि गराउन केन्द्रले गायक राजेश पायल राई, नायक दयाहाङ राई, विश्व साइकलयात्री पुष्कर शाह, अल्ट्रा धाविका मीरा राई, माउन्टेन गाइड एवम् १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका आरोही पेम्बा वाङ्थु शेर्पालाई मुन्धुम ट्रेल पर्यटन दूत बनाइएको छ ।

मुन्धुम ट्रेल पर्यटन दूत घोषणापछि नायक दयाहाङ राईले आफ्नो मौलिक र प्राकृतिक सम्पदा चिनाउन पाउदा खुसी लागेको बताउनुभयो । उहाँले ट्रेलको मुख्य आकर्षण प्रकृति र संस्कृतिलाई कसरी चिनाउने भन्ने विषय नै चुनौती भएको बताउनुभयो । उहाँले डोजरे विकासको प्रवृतिबाट प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आफूले स्थानीय ज्ञान, सीप र क्षमताको समिश्रणलाई माथि उकास्न भूमिका खेल्नेतर्फ जोड दिनुभयो ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या विस्तारै बढ्न थालेको छ । पदमार्गअन्तर्गत सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल पर्दछन् । पर्यटकले विभिन्न ४५ वटा हिमश्रृंखला पदयात्राको क्रममा देख्न पाउनेछन् ।

यस्तै, पहाडसँगै तराईका भूभागको अवलोकन गर्न सकिने, किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ । यो पदमार्ग सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको छ भने कम्तीमा १२ दिनको यात्रामा मुन्दुम ट्रेलको भ्रमण सकिने छ ।

Share This:
सम्बन्धित खबर
Loading...