विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिजमा, दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

44

काठमाडौँ, २८ जेठ । भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेका छन् । उनँले त्यहाँ आइसिसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरुमा नेपाली टिमबाट खेल्नेछन्

नेपाल क्रिकेट संघ (क्यान)ले लामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दै छ ।

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ,’ क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् भन्नुभएको छ ।

लामिछानेलाई टोलीमा समावेश गरेसँगै क्यानले बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेको छ । यद्यपि, क्यानले उच्च अदालत पाटनले मे १५ मा लामिछानेको पक्षमा गरेको फैसलासँगै उनलाई टोलीमा राखेर जिसीलाई रिजर्भमा राखेको दाबी गरेको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलेको थियो ।

‘नेपाल क्रिकेट संघले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसीसामु पेश गरेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकामा क्यानको चौतर्फी विरोध भैरहेको छ । तर, क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...