काठमाडौँ, २५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान बिन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले आइसिटीलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल, प्रचारात्मक कामहरु र सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो आइसिटीलाई जुन एउटा महत्वका साथ सरकारी निकायहरुका सबैका एकरुप बुझाइका साथ जसरी हामीले आइटी डिकेट घोषणा गर्न सक्यौं र यो आर्थिक वर्षलाई प्रस्थान बिन्दुका रुपमा अगाडि बढाउँछौँ भनेर जुन सरकारले प्रतिबद्धता गरेको छ यो कुरा हाम्रो निरन्तरको छलफल र प्रचारात्मक कामहरु, आइसिटीका साथीहरु, सञ्चार मन्त्रालयलगायत प्रधानमन्त्रीको भिजन अर्थमन्त्रीको काम र हामी सबैको आइटी डिकेट घोषणा गर्नका ठुलो सहयोग छ । र आइटीलाई पहिलो पटक नेपालमा गेम चेन्जर प्रोजेक्टको रुपमा तेस्रो नम्बरमा समावेश गर्न सफल भयौँ । यो अत्यन्तै उत्साहजनक वातावरण हो ।’
यस्तै, उहाँले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो डिजिटल नेपालको कुरा छ, वर्ल्ड बैंक अझै पनि यसका लागि तयार छ । हामीले नेपाल सरकारकै तर्फबाट पनि यो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौँ । त्यसकारण यी कार्यक्रमहरुलाई महत्वका साथ सरकारले अगाडी बढाएको छ र यसलाई परिमार्जन गर्ने भनेको छ । यो परिमार्जनको प्रक्रियामा अगाडि छौँ । यो आर्थिक वर्षदेखि डिजिटल नेपाल बनाउने कुरामा दृढताका साथ काम अगाडि बढ्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । सबै सरकारी निकाय मात्र होइन्, नीजि क्षेत्र र वैदेशिक लगानी पनि यसमा आकर्षित गर्ने गरे हामी अगाडि बढ्न खोज्दै छौँ ।’
बजेट कार्यक्रम पारित नभए पनि नीति कार्यक्रम र बजेट वक्तव्यसम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उहाँको भनाइ छ ।